काठमाडौं-नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भएको कुराकानीमा मन्त्रालय भागबन्डा टुङ्ग्याइएको हो ।

एमालेको भागमा प्रधानमन्त्रीसहित अर्थ, रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतका अनुसार एमालेले ८ वटा मन्त्रालय पाएको हो । मन्त्रालय टुंगिए पनि एमालेबाट सरकारमा जाने मन्त्रीहरू सबैको नाम भने अझै तय भइसकेको छैन ।

त्यस्तै, नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकासलगायतका मन्त्रालय लिनेछ ।

मन्त्रालय भागबण्डा टुंगिएको तर व्यक्तिहरु टुंगिनसकेको दुबै दलका नेताहरुले बताएका छन् ।

सोमबार बिहानसम्म मन्त्रीहरुको पनि नाम टुंगो लगाउने दुई दलको तयारी छ ।