काठमाडौं - दक्षिण कोरियामा कोरोना भाइरस संक्रमितको संख्या एकैदिन दोब्बरको हाराहारीमा बढेको छ ।

शुक्रवारसम्म २०४ व्यक्तिमा कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण पुष्टि गरेको दक्षिण कोरियामा थप २२९ जनामा भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको त्यहाँका सरकारी अधिकारीले बताएका छन् ।

अहिलेसम्म दक्षिण कोरियामा दुई जनाको उक्त रोगका कारण मृत्यु भइसकेको छ। त्यहाँ मृतकको सङ्ख्या बढ्न सक्ने त्रास फैलिएको छ। डाएगु र नजिकै अवस्थित चेओङ्डोलाई ‘विशेष निगरानी क्षेत्र’ घोषणा गरिएको छ।

यसैबीच चीनसँग स्पष्ट सम्बन्ध नभएका स्थानमा पनि कोरोनाभाइरस सङ्क्रमणका घटनाले अवस्थालाई थप चिन्तित तुल्याएको विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले बताएका छन्। उनले कोरोनाभाइरस नियन्त्रण गर्ने अवसर ‘साँघुरिँदै गएको’ चेतावनी दिए।

चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा सङ्क्रमण पुष्टि भएको र दुई हजार ३४५ जनाको मृत्यु भएको पुष्टि भएको छ।