नेपाल टेलिकमले दशैँअगाडि सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरूमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘फोर जी’ सेवा सञ्चालनको तयारी गरिरहेको छ । दशैँअगावै यहाँका मुख्य बजार क्षेत्रका उपभोक्ताले चौथो पुस्ताको ताररहित दूरसञ्चार सेवा (फोर जी) प्रयोग गर्न पाउने भएका छन् ।

नेपाल टेलिकम दिपायल राजपुर कार्यालयका अनुसार पहिलो चरणमा सुदूरपश्चिम प्रदेशका मुख्य शहरलगायतका ठाउँबाट ‘फोर जी’ सेवा सुरु गरिने भएको छ । नेपाल टेलिकम डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशभरि नै ‘फोर जी’ सेवा सुरु गर्ने तयारीका साथ जुटेको नेपाल टेलिकम दिपायलका निमित्त प्रमुख प्रकाश चौधरीले बताए । उनले भने, ‘हामी सुदूरपश्चिमभरिमा ‘फोर जी’ सेवा सञ्चालनका लागि काम गरिरहेका छौँ, सम्भवतः दशैँअगावै सेवा विस्तार हुनेछ ।’

आउँदो वर्षभित्र देशभर ‘फोर जी’ सेवा पुर्‍याउने सरकारी लक्ष्यअनुसार डोटीको दिपायल तथा सिलगढीमा पनि तीव्ररूपमा काम भइरहेको निमित्त प्रमुख चौधरीले जानकारी दिए । दिपायल टेलिकमले ‘फोर जी’ सेवा सुरु हुने बीटीएस टावरमा एन्टेना, रेडियो युनिट र बेस ब्याण्ड युनिट राख्ने काम भइरहेको जनाएको छ । दिपायल, राजपुर, पिपल्ला र सिलगढीमा उक्त सेवा सुचारु भएपछि अन्य क्षेत्रमा रहेका टावरमा पनि क्रमशः ‘फोर जी’ सञ्चालनका लागि उपकरण र प्रविधि थप्दै जाने टेलिकमको योजना रहेको  छ ।