काठमाडौं - बार्सिलोना स्पेनिस ला लिगा अन्तर्गत सेभियाविरुद्ध गोलरहित बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभिल्लासंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।

योसँगै बासिंलोनालाई उपाधि होडमा धक्का लागेको छ । बार्सिलोनालाई लिगमा तीन अंकको अग्रता रहेपनि एक खेल कम खेलेको रियल म्याड्रिडले आइतबार रियल सोसिडाडविरुद्धको खेलमा जीत हासिल गरे बार्सासँग अंक बराबरी गर्न सफल हुनेछ ।

खेलमा उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै सेभियाले बार्सिलोनाको आक्रमणलाई फितलो बनायो । कप्तान लियोनेल मेस्सीको फ्रिकिक बारमा ठोक्किनु बाहेक बार्सिलोनाले खेलमा सेभियाको रक्षापंक्ति तोड्दै खासै अवसर सृजना गर्न सकेन ।

बार्सिलोनाले दोस्रो हाफको ७६ औं मिनेटमा एन्टोनी ग्रिजम्यानलाई समेत मैदान उतारेको थियो । तर उनले समेत कुनै प्रभाव छाड्न सकेनन् ।

बार्सिलोना ६५ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको रियलको ६२ अंक छ । सेभिल्ला ५२ अंक सहित तेस्रो स्थानमा छ ।