काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मन्त्री बन्न कुनै योग्यता नचाहिने बताएका छन् ।

विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण समारोहमा बोल्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन् । चुनाव जितेर आएपछि नेताले मन पराए मन्त्री बन्ने योग्यता पुग्ने सञ्चारमन्त्री गुरुङको भनाइ छ। उनले नेपालमा मन्त्रालय संचालनका लागि कुनै योग्यता चाहिने अभ्यास र कानुनी व्यवस्था नरहेको बताए ।

सञ्चारमन्त्री गुरुङले भने, ‘हाम्रो नेपालमा मन्त्री हुनलाई कुनै योग्यता नै चाहिँदैन । मतदाताले जिताइदिएपछि पुगिहाल्यो । त्यो मन्त्रालय चलाउन यति क्वालिफिकेसन, अनुभव, योग्यता चाहिन्छ भन्नेकुरा केही पनि छैन । चुनाव जितेर आएर पार्टी र नेताले मन पराएपछि भइहाल्यो । खेलकुदको ख नबुझ्नेहरू जहिले पनि खेलकुदमन्त्री बनिरहेको देख्छु म । वन नै नबुझेको मान्छेहरू वनमन्त्री भइरहेको हुन्छ ।’

नेपाली समाज ढोंगी रहेको सञ्चारमन्त्री गुरुङले बताए । आफुले के बोलिदिँदा तत्काल ताली आउँछ, त्यही मात्रै भनिदिने र भोलिको दिन के काम गर्नुपर्छ भन्नेकुरा बिर्सिने परिपाटी देशमा रहेको उनले बताए । नेताहरू जता गयो त्यतैको भाषा बोल्ने समस्या रहेको पनि सञ्चारमन्त्री गुरुङको भनाइ छ ।