काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षको बजेट तथा नीति कार्यक्रमका सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत गरेका छन् ।

आइतबार बसेको बैठकमा बजेट तथा कार्यक्रमको पहिलो प्राथमिकता स्वास्थ्य पूर्वाधार, रोजगारी सिर्जना तथा कृषि क्रान्तिमा आधारित हुने उल्लेख गरेका हुन् ।

खतिवडाले कोरोना महामारीका कारण उत्पन्न आर्थिक तथा सामाजिक समस्यालाई समाधान गरी दीगो पूर्वाधार निर्माण गर्न बजेट तथा कार्यक्रम केन्द्रित हुने जानकारी गराएका छन्।

तत्काल कोरोना महामारीसँग जुध्न तथा भविष्यमा आउनसक्ने यस्तै प्रकोपसँग जुध्नका लागि आवश्यक स्वास्थ्य पूर्वाधार निर्माण सरकारको पहिलो प्राथमिकता भएको र आगामी वर्षको बजेट तथा कार्यक्रम पनि त्यसरी नै आउने उनले जानकारी दिए।

सरकारले राष्ट्रिय गौरव तथा सञ्चालनमा रहेका ठूला आयोजनामा स्रोत सुनिश्चित गरिएको जनाएको छ। अर्थमन्त्री डा. खतिवडाका अनुसार उत्पादनका साधनमा सबै नागरिकको पहुँच पुग्नेगरी बजेटको प्राथमिकता तय गरिएको छ ।

यसमा सबै रुपान्तरणकारी योजनामा स्रोतको अभाव नहुने गरी बजेट बन्ने भएको छ । उनका अनुसार स्वास्थ्य प्रणाली सवल बनाउने र त्यसका लागि आवश्यक संरचना निर्माणमा बजेट केन्द्रित हुनेछ ।

स्वास्थ्य बिमाको विस्तार गरिने भएको छ भने आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच पुर्‍याउने लक्ष्य तय गरिएको छ । सबै नागरिकलाई साक्षर बनाउने अभियान समेत आगामी वर्ष समावेश हुने भएको छ ।

गम्भीर आर्थिक संकटको सामना गर्नुपरेको यो परिस्थितिमा अर्थतन्त्रका हरेक क्षेत्र प्रभावित भएका छन् । वर्तमान सरकारले अगाडि बढाएको कोभिड १९ ले अहिले पारेको असरलाई न्यूनीकरण गर्दै अर्थतन्त्रलाई गति दिनको लागि योजनाबद्ध रूपमा अघि बढ्ने भएको छ ।

कोरोनाबाट बढी प्रभावित पर्यटनसहितको सेवा क्षेत्रलाई पुनरुत्थान गर्नको लागि आवश्यक पर्ने राहत प्याकेज समेत समेटेर बजेटले ल्याउने तयारी भइरहेको छ । आन्तरिक पर्यटनलाई बढावा दिँदै यो क्षेत्रमा चहलपहल बढाउने र हवाई पूर्वाधार निर्माणलाई समेत उत्तिकै प्राथमिकता दिइने अर्थमन्त्री डा। खतिवडाले जानकारी दिए ।

उनका अनुसार चालु आयोजना सकाउने र अत्यावश्यकबाहेकका नयाँ आयोजनामा भने बजेट खर्च नगर्ने उनले स्पष्ट पारेका छन् । सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने प्रतिबद्धता समेत अर्थमन्त्रीले गरेका छन् । वैदेशिक सहायतालाई स्वास्थ्य पूर्वाधार र आर्थिक पुनरुद्धारमा केन्द्रित गरिने भएको छ।