काठमाडौं - एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको चीनले २३.१ ओभरमा सबै विकेट गुमाएर ५३ रन बनाएको थियो ।

चीनलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले ६ विकेट लिए । ९.१ ओभर बलिङ गरेका सागरले ३ ओभर मेडन राख्दै १९ रन खर्चिएर ६ विकेट लिएका हुन् । यसैगरी ७ ओभर बलिङ गरेका तीलकराज भण्डारीले ३ ओभर मेडन राख्दै १५ रन खर्चिएर ३ विकेट लिए । कमलसिंह ऐरीको नाममा १ विकेट रह्यो ।

चीनका गुहावो गो र लिङ चेनले समान १३–१३ रन बनाए पनि अरु ब्याट्सम्यानले व्यक्तिगतरुपमा अधिकतम ५ रन पनि जोड्न सकेनन् । नेपालले अतिरिक्त ७ रन दिन पुग्यो । ५४ रनको सामान्य लक्ष्य नेपालले ५ ओभरमा कुनै पनि विकेट नगुमाइ पूरा गरेको थियो । नेपालको जितमा पवन शर्राफ र रित गौतमले नट आउट पारि खेले ।

पवनले पाँचौ ओभरमा २ छक्का र २ चौकाको मद्दतले २१ रन जोडेपछि नेपाल सहजै विजयी भयो । समग्रमा पवन ४६रनमा नट आउट रहँदा रित गौतम १० रनमा नट आउट रहे ।

बुधबार पनि पराजित भएको चीन दुवै खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिएको छ । यो समूहबाट नेपाल र सिंगापुर सेमिफाइनलमा पुगेका छन् । दोस्रो खेल नेपालले शुक्रबार सिंगापुरसँग खेल्नेछ । पूर्वी क्षेत्रीय छनोटको यो प्रतियोगिता जितेर अगस्ट २८ देखि श्रीलंकामा हुने यू(१९ एसिया कपमा खेल्ने नेपालको लक्ष्य छ ।