एजेन्सी - जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले यस सिजनको अन्तिम खेलमा फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा बायर्नले १० खेलाडीमा सिमित वोल्फ्सबर्गलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

बायर्नको जितमा किङ्सले कोम्यान, माइकल कुइसान, रोबर्ट लेवान्डोस्की र थोमर मुलरले एक एक गोल गरे । खेलको चौंथो मिनेटमा कोम्यानको गोलबाट बायर्नले सुरुवाती अग्रता बनाएको थियो । ३७ औं मिनेटमा माइकलले गोल गर्दा पहिलो हाफमा बायर्न २-० ले अघि रह्यो ।

७१औं मिनेटमा जोसुख गुइलाभोगीलले पेनालटी एरियामा फाउल गरेपछि रातो कार्ड खाँदै मैदान बाहिरिए ।माइकललाई पेनाल्टी क्षेत्रमा लडाएपछि उनलाई रेफ्रीले रातो कार्ड र बायर्नलाई पेनाल्टीको मौका दिएका थिए ।

उक्त पेनाल्टीमा लेवान्डोस्कीले गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए । उनको यो लिगमा सिजनको ३४ औं गोल समेत हो । उनी यस सिजनको लिगमा सर्वाधिक गोलकर्ता हुन् ।

त्यसपछि खेलको ७९ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई ४-० को जित दिलाए । जितपछि बायर्नले ३४ खेलबाट ८२ अंक जोड्दै सिजन सकाएको हो ।

योसँगै बायर्नले लगातार आठौं सिजन उपाधि ट्रफी उचालेको छ । बायर्नको यो कीर्तिमानी ३० औं बुन्डेसलिगा उपाधि समेत हो ।यस सिजन बायर्न दोस्रो स्थानको बोरुसिया डर्टमण्ड भन्दा १३ अंकले अघि रह्यो । वोल्फ्सबर्ग ४९ अंक जोडेर सातौं स्थानमा रह्यो ।