काठमाडौं - ब्याडमिन्टन एसियाले नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल एसियाकै बेस्ट जुनियर खेलाडी भएको घोषणा गरेको छ ।

शनिबार ब्याडमिन्टन एसियाले वर्तमान अवस्थामा प्रिन्स नै एसियाली क्षेत्रको उत्कृष्ट युवा खेलाडी भएको जनाएको हो । प्रिन्स विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सातौ स्थानमा रहेका छन् । फागुन अन्तिममा सार्वजनिक भएको वरियतामा १६ वर्षीय प्रिन्सले तीन स्थान सुधार गर्दै सातौ स्थानमा रहेका थिए ।

प्रिन्सले गत फागुनमा दुई अन्तर्राष्ट्रिय जुनियर प्रतियोगिता खेल्दै प्रि–क्वाटरफाइनल सम्मको यात्रा तय गरेका थिए । प्रिन्सले डच जुनियर इन्टरनेसनल तथा जर्मन जुनियर सिरिजमा प्रि–क्वाटरफाइनल सम्मको यात्रा तय गरे । प्रिन्सले जुनियर स्तरमा दुई अन्तर्राष्ट्रिय उपाधि जितिसकेका छन् ।

प्रिन्स हाल नेपाली राष्ट्रिय ब्याडमिन्टन टोलीसँगै प्रशिक्षणमा व्यस्त छन् ।