काठमाडौं - इंग्लिस क्लब चेल्सीले जर्मनीका स्ट्राइकर टिमो वेर्नरलाई अनुबन्ध गरेको छ । चेल्सीले वेर्नरलाई जर्मन क्लब आरबी लाइपजिगबाट पाँच वर्ष का लागि अनुबन्ध गरेको हो ।

वेर्नर जुलाईबाट चेल्सीको टिममा सामेल हुने छन् । उनी सिजनको अन्त्यसम्म जर्मन क्लबमा रहने छन् ।

२४ वर्षका वेर्नरले चेल्सीमा अनुबन्धित हुँदा खुशी लागेको बताएका छन् । चेल्सीसँग सम्झौता गर्न पाउँदा खुसी छु । ठूलो क्लबको एक भाग हुन पाउँदा अत्यन्तै गर्वको महशुस गरेको छु, उनले भने ।

वेर्नरले लाइपजिगका लागि १५७ खेलमा ९३ गोल गरेका छन् भने ४० गोलका लागि सहयोग गरेका छन् ।