काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट स्पेनमा एक जना फुटबल प्रशिक्षकको मृत्यु भएको छ । विश्वमा महामारीकै रुपमा फैर्लिएको कोरोना संक्रमणबाट स्पेनमा २१ वर्षीय फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको हो ।

कोरोनाका कारण मृत्यु हुने उनी विश्वकै कान्छो उमेरका व्यक्ति भएको बताइँदै छ । गार्सियाले मालागा अवस्थित एट्लेटिको पोर्टाडा अल्टा क्लबको जुनियर टिमलाई प्रशिक्षण दिइरहेका थिए । भाइरसको लक्षण देखिएपछि उनलाई अस्पतालमा लगिएको थियो ।

अस्पतालमा लग्ने बित्तिकै चिकित्सकले उनमा ब्लड क्यान्सर भएको भनेका थिए । चिकित्सकले ब्लड क्यान्सर नभएको अवस्थामा उनलाई बचाउन सकिने बताएपनि पहिल्यै अर्को रोग भएका कारण बचाउन नसकिएको जानकारी दिए । मालागामा कारोनाबाट मृत्यु हुने गार्सिया पाँचौ व्यक्ति हुन् ।

स्पेनले पछिल्लो हप्ता आपतकालिन अवस्थाको घोषणा गरेको छ । युरोपेली देशमा स्पेन कोरोनाबाट प्रभावित दोस्रो राष्ट्र हो । करिब ८ हजार जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यस्तै २ सय ९७ जनाको मृत्यु भइसकेको छ ।