काठमाडौं - नेपालको राष्ट्रिय टीममा डेब्यु गरेका कुशल मल्लले पहिलो खेलमै अर्धशतक बनाएका छन् । कीर्तिपुरमा चलिरहेको आइसीसी विश्वकप क्रिकेट लिग टू मा अमेरिकासँग खेलिरहेका कुशलले ४९ बलमा ४ चौका र ३ छक्कासहित ५० रन पूरा गरेका हुन् । 

यससँगै उनले एक दिवशीय क्रिकेटमा सबैभन्दा सानो उमेरमा अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाएका छन् । यसअघि एक दिवसीय क्रिकेटमा कान्छो उमेरमा अर्धशतक बनाउने कीर्तिमान रोहित कुमार पौडेलको नाममा थियो । 

रोहितले १६ वर्ष र एक सय ४६ दिनको उमेरमा अर्धशतक प्रहार गरेका थिए भने कुशल आज १५ वर्ष ३ सय ४० दिनका भएका छन । कुशल डेब्युमै अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी पनि बनेका छन् । टीमको स्कोर ४९ रन हुँदा पाँच विकेट गइसकेको अवस्थामा ब्याट सम्हालेका कुशलले ४९ बलमा चार चौका र तीन छक्का प्रहार गरे । 

तर अर्धशतक बनाएलगत्तै उनी आउट हुन पुगे । लामो शट हान्न खोज्ने क्रममा उनी क्याच आउट भएका थिए । कुशल र विनोद भण्डारीले छैटौ विकेटका लागि ८४ रनको साझेदारी गरे । कीर्तिपुर मैदानमा टस जितेर अमेरिकाले पहिले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो ।