रोल्पा - नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आरोप लाग्दैमा कोही पनि अपराधी नहुने बताएका छन् ।

प्रेस सेन्टरले शनिबार गृह जिल्ला रोल्पाको लिवाङमा गरेको पत्रकार भेटघाटमा बोल्दै उपमहासचिव पुनले यस्तो बताएका हुन् । उनले सहकारी ठगीमा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सांसद ऋषिकेश पोखरेललाई पनि पक्राउ गर्न माग गरे ।

उपमहासचिव पुनले उस्तै आरोप लागेका गुरूङ र पोखरेललाई छुट दिन नमिल्ने बताए।

उपमहासचिव पुनले भने,‘रवि लामिछानेलाई जस्तै आरोप काँग्रेसका उपसभापति धनराज गुरुङजी र प्रधानमन्त्रीको दलका सांसद र लेखा समितिका सभापति ऋषिकेश पोखरेलजीलाई पनि छ । यसमा दोहोरो नहोस्। रवि लामिछानेमाथि जे गरिएको छ , धनराज र ऋषिकेसलाई पनि त्यही होस्।’ पोखरेलमाथि १८ करोड हिनामिनाको आरोप रहेको पनि पुनले बताए।

पुनले धनराज र ऋषिकेश सत्तारुढ दलका नेता भएकै कारण उन्मुक्ति दिन खोजिएको भए जनताले प्रतिवाद गर्ने चेतावनी दिए। राज्यका नियकाले गर्ने न्याय सम्पादन र अनुसन्धान सत्तापक्ष, प्रतिपक्ष वा पहुँच भएको र नभएको आधारमा नभई निष्पक्ष हुनुपर्ने उनको भनाइ छ ।

पुनले सहकारी ठगीमा मुछिएका अरुलाई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गरे। उनले रास्वपा सभापति रवि लामिछनेलाई पनि अनुसन्धानमा सहयोग गर्न आग्रह गरे।