एजेन्सी - युरोपियन च्याम्पिन्स लिगबाट इटालियन क्लब एटलान्टा बाहिरिएको छ । गएराति लिस्बनमा भएको क्वाटरफाइनको खेल अन्तर्गत एटलान्टा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग २-१ गोलले पराजित भएसँगै च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न असमर्थ भएको हो । 

मारियो पासालीचले खेलको २६ औं मिनेटमा गोल गर्दै एटलान्टालाई पहिलो हाफमै अग्रता दिलाएका थिए । तर अन्तिममा १० मिनेट सम्हालिन नसक्दा खेल पीएसजीले जित्यो । ३ मिनेटको अन्तरमा ९० औं मिनेटमा मार्किन्हस र इन्जुरी समयमा चुपो मोटीङले गोल गरेपछि पीएसजी विजयी रह्यो ।

खेलको तेस्रो मिनेटमा नै नेयमारले पीएसजीलाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फाले । मैदानको मध्य भागबाट एक्लै बल अगाडी बढाएका नेयमारले वान भर्सेस वानको स्थितिमा गरेको प्रहार पोस्टभन्दा बाहिर फाले । 

यस जितसँगै पीएसजी क्लब इतिहासमा २५ वर्षपछि दोस्रो पटक सेमिफाइनल प्रवेश गरेको छ । अब फाइनल प्रवेशका लागि पीएसजीले एट्लेटिको मड्रिड र आरबी लेप्जिगबीच खेलको विजेतासँग खेल्नेछ यी खेल आजै राति १२:४५ मा हुँदैछ ।