काठमाडौं - युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद ‘राखेप’को सदस्य सचिव छनोटका लागि सिफारिस समिति गठन गरेको छ । मन्त्रालयले सचिव राम प्रसाद थपलियाको संयोजकत्वमा आज समिति गठन गरेको हो ।

समितिमा रिम रानाभाट र इन्दिरा निरौला सदस्य रहेका छन । समितिले एक महिला सहित तीन जनाको नाम सिफारिसका लागि मन्त्रालयलाई सिफारिस गर्नेछ । सिफारिस भएकामध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले सदस्यसचिव नियुक्त गर्नेछ ।

नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएसँगै असार दश गतेदेखि राखेप सदस्य सचिव विहिन छ । नयाँ ऐन कार्यान्वयनसँगै निवर्तमान सदस्य सचिव रमेश लवालसहित परिषदका उपाध्यक्ष र अन्य सदस्यहरु पदमुक्त भएका थिए ।