काठमाडौं - डिफेन्डिङ च्याम्पियन म्यान्चेष्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । शनिबार राती भएको खेलमा चौथो डिभिजनको पोर्ट भालेलाई ४–१ ले हरायो ।

म्यान्चेष्टर सिटीको मैदान इथियाद स्टेडियममा भएको खेलमा घरेलु टिमलाई जित दिलाउनका लागि १७ वर्षे फिल फोडेनले राम्रो प्रदर्शन गरे । उनले एक गोलसँगै एक एसिस्ट पनि गरेका थिए ।

२०औं मिनेटमा ओलेक्सान्दर जिनचेन्कोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा टम पोपले गोल गर्दै खेल बराबरीमा पु¥याए । पहिलो हाफ सकिनु तीन मिनेटअघि सर्जियो एग्युरोले फोडेनको पासमा गोल गर्दै सिटीलाई फेरी अग्रता दिलाए ।

५८औं मिनेटमा टेलर हारउड बेल्लिसले र ७६औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई जित दिलाए । म्यान्चेष्टर सिटी एकेडेमीका उत्पादन फोडेनले एकेडेमीबाट उत्पादित अर्का खेलाडी एन्जेलिनोको पासमा गोल गरेका थिए ।

म्यान्चेष्टर युनाइटेड र उल्भरह्याम्टनबीचको खेल गोलरहित बराबरीमा टुंगिएपछि रिप्ले खेलाइने भएको छ । उल्भ्सको मैदानमा भएको खेलमा दुबै टिमले गोल गर्न सकेनन् ।