काठमाडौं - इटालियन क्लब लाजियो १३ बर्षको प्रतिक्षापछि च्याम्पियन्स लिगमा छनोट भएको छ । बिहिबार राति काग्लियारीमाथि २–१ को जित निकाल्दै लाजियोले अर्को सिजनको च्याम्पियन्स लिगमा आफ्नो स्थान पक्का गरेको हो ।

खेलको ४५औं मिनेटमा जियोभानी सिमोनीले गोल गर्दै काग्लियारीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा लाजियोले पुनरागमन गर्द २ गोल गर्न सफल भयो । सेर्गेई मिलिन्कोविचले ४७ औं मिनेटमा गोल गर्दै लाजियोलाई खेलमा फर्काएका थिए । ६० औं मिनेटमा सिरो ईम्मोबिलको गोलमा लाजियोले पुनरागमन जित निकाल्यो ।

ईम्मोबिलले गोल्डेन बुटको दौडमा क्रिस्टियानो रोनाल्डोलाई समेत पछाडी पारेका छन् । ईम्मोबिलको ३१ गोल पुगेको छ भने रोनाल्डोको ३० गोल छ ।

जितसँगै लाजियो ७२ अंक सहित चौथो स्थानमा रहेको छ । लाजियोले पाँचौ स्थानको रोमासंग ११ अंकको अग्रता बनाएको छ । पराजित काग्लियारी ४२ अंक सहित १३ औं स्थानमा छ ।