नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भेटिएनन्
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालभित्र कोरोनाभाइरसबाट संक्रमित व्यक्ति भेटिएका छैनन् । पिसिआरमार्फत परिक्षण गरिएका कुनै पनि व्यक्तिमा कोरोनाभाइरसको संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित मिडिया ब्रिफिङमा जानकारी दिइएको छ ।
मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा मात्रै एक हजार ४ सय ५१ जनाको परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार बिहीवारसम्म नेपालमा १४ हजार ५ सय ९ जनाको पिसिआरमार्फत र ५४ हजार ९३ जनाको आरडिटीमार्फत कोरोना परीक्षण भएको छ ।
नेपालभरका क्वारेन्टाइनमा १७ हजार ३ सय ७२ जना रहेको १ सय ३३ जना आइसोलेसन रहेका छन् । त्यसमध्ये काठमाडौं उपत्यकामा ३ जना जना आइसोलेसनमा राखिएका छन् ।
मन्त्रालयका अनुसार ३३ हजार ५ सय २२ जनाले स्वमूल्याङ्कनका लागि आवेदन दर्ता गरेका छन् भने हालसम्म १ सय ३५ जना रेड जोनमा रहेका छन् ।
त्यस्तै अहिलेसम्म कोरोना संक्रमितको संख्या नेपालमा ९९ पुगेको छ भने २२ जना निको भएर घर फर्किसकेका छन् ।
फेसबुक पेज Like गर्नुहोस