काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको टी–२० को वरीयतामा नेपाली टिमका कप्तान पारस खड्काले ठूलो छलाङ मारेका छन् । उनी टी–२०को अलराउण्डरतर्फ ४१ बाट २५औँ स्थानमा उक्लिएका छन ।

हालै मलेसिया र सिंगापुरमा गरेको प्रदर्शनका आधारमा उनी आईसीसीको वरीयतामा पनि ठूलो छलाङ मारेका हुन् । उनले भारतीय खेलाडी सुरेश रैनालाई पनि पछि पारेका छन् । यस्तै त्यही स्थानमा मिचेल सान्टानेर र इल्टोन चिगंम्बुरा पनि रहेका छन । उनले अलराउण्डमा अफगानिस्तानका रासिद खान, डेविड वेली, क्रिस मोरिस, जोय रुट, क्रिस गेल, कायरन पोलार्ड, बेन स्टोकलाई पनि पछि पारेका छन् ।

अलराउण्डमा अर्का खेलाडी सोमपाल कामी ६६औँ स्थानमा यथावत रहेका छन् । नेपाली खेलाडी यो वरीयतामा पुगेको अहिलेसम्मकै ठूलो हो । 

यस्तै ब्याटिङमा पनि पारस खड्का ६६ औं स्थानमा उक्लिएका छन् । उनको चार सय १७ अंक रहेको छ । उनले महेन्द्रसिंह धोनीलाई पनि पछि पारेका छन । धोनी ६७ औं स्थानमा रहेका छन । यस्तै क्रिस गेल पनि पारस भन्दा पछाडि रहेका छन । गेल ७३ औंँ स्थानमा छन ।

यस्तै बलिङमा नेपाली बलर बसन्त रेग्मी ७१ औं स्थानमा झरेका छन् भने सोमपाल कामी ७८ औं स्थानमा यथावत रहेका छन् ।