काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीबाट गैरकानूनी ऋण प्रवाहमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको बयानको क्रममा सभापति लामिछानेले यस्तो बताएका हुन् ।आफूले सहकारीबाट एक पैसा पनि नलिएको भन्दै उनले आफू निर्दोष रहेको संसदीय छानबिन समितिमा बयान दिएको छन् । उनले आफूले समाचार पक्षको जिम्मेवारी हेर्नेगरी ग्यालेक्सी टीभीमा काम गरेको भन्दै आर्थिक पाटो थाहा नभएको बताएका छन् ।

समितिको बयानमा सभापति लामिछानेले भनेका छन्, ‘मेरो बुझाइमा व्यक्ति र संस्थाबाट आएको सम्पूर्ण रकम जीबी राईले ल्याएको रकम हो । यी सम्पूर्ण रकमहरू तत्-तत्‌ संस्थाहरूबाट ल्याउँदा आवश्यक प्रक्रिया पूरा गरेको बुझ्नुपर्छ । जीबी राई स्वयम् उल्लिखित संस्थाहरूमा संलग्नै रहेको र गोरखा मिडिया नेटवर्क प्रालिको पनि कार्यकारी अध्यक्ष भएको हुँदा र कम्पनीको सम्पूर्ण कारोबार निजले नै हेर्ने भएको हुँदा यस विषयमा मलाई जानकारी छैन ।’

बयानमा समितिले सभापति लामिछानेलाई गरेको प्रश्नमा रविले भने आफ्नो कुनै पनि सहकारीमा सदस्यता नभएको र ऋण नलिएको बताएका छन्। सभापति लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पोखरा र सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवलमा कुनै पनि सदस्यता नरहेको बताएको छानबिन समितिको प्रतिवेदमा उल्लेख छ ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लामिछानेले नाममा दुई करोड ऋण खडा गरी गोरखा मिडिया नेटवर्कमा पठाइएको कुरा के हो भन्ने प्रश्नमा लामिछानेले ऋण लिँदा पुर्‍याउनु पर्ने पक्रिया नपुगेको र उक्त ऋण लिएको व्यक्ति आफू नभएको उनले बताएका छन्। सभापति लामिछानेले आफू र छविलाल जोशी नेपाल बैंक लिमिटेड न्यूरोड शाखामा ऋण लिने प्रक्रियामा जाँदा नेपाल बैंकले करिब २५ करोड दिन सहमत भएको उल्लेख गरेका छन् ।