मेसीले बार्सिलोना छोड्ने निर्णय लिनुका पछाडि यस्ता ५ कारणहरु
एजेन्सी - पछिल्लो केही वर्षयता स्पेनिस क्लब बार्सिलोनाको प्रदर्शन फितलो हुँदै आएको छ । क्लबले सिजन २०१९/२० मा नै दुई प्रशिक्षक बर्खास्त गर्यो । हाल पूर्व खेलाडी रोनाल्ड कुमनलाई प्रशिक्षको जिम्मेवारी दिइएको छ । तर, कुमन आएपछि पनि बार्सिलोनाको प्रदर्शन सुध्रने भन्ने कुनै ग्यारेन्टी छैन ।
धेरैले खेलाडीहरुमा नभई क्लबको बोर्डमा समस्या रहेको बताइरहेका छन् । सोही कारण अध्यक्ष जोसेप मारिया बार्तोमेउको राजीनामाको माग भइरहेको छ । उनले क्लबलाई आर्थिक रुपले कमजोर बनाएको साथै खेलाडी अनुबन्ध गर्दा क्लबमा फिट नहुने खेलाडीलाई मोटो रकम तिरेर भित्र्याएको आरोप लागेको छ ।
लगातार तीन सिजन (रोम, एनफिल्ड तथा लिस्वन)मा भएको च्याम्पियन्स लिगमा लज्जास्पद हार व्यहोरेपछि कप्तान लियोनल मेसी पनि निराश छन् । सोही कारण उनी २० वर्षपछि क्लब छोड्ने मनस्थितिमा छन् । यसले अध्यक्ष बार्तोमेउको पद झनै धराप बनाइदिएको छ । मेसीले मंगलबार क्लबसमक्ष आफूले बार्सिलोना छोड्न लागेको जानकारी दिएपछि यसले फुटबल जगतमा एउटा तरंग सृजना गरेको छ । यसबारेमा मेसीले सार्वजनिक रुपमा बोलेका छैनन् । तर, बार्सिलोना निकट समाचार संस्थाहरुका अनुसार मेसीले क्लब छोड्ने निर्णय गरिसकेका छन् । यसको लागि उनले स्वतन्त्र रुपले अन्य क्लबसँग अनुबन्ध गर्न पाउनुपर्ने माग समेत गरेका छन् ।
मेसीले किन क्लब छोड्ने निर्णय गरे ?
१. बोर्डसँगको सम्बन्ध
मेसी र बार्सिलोना बोर्डबीच राम्रो सम्बन्ध छैन । उनले क्लबलसँग सम्झौता नविकरण गर्दै केही फोटो खिचे पनि विगत पाँच वर्षदेखि बार्सिलोना बोर्डसँग उनको सम्बन्ध राम्रो हुन सकेको छैन । सोही कारण हरेक सिजनको सुरुवात हुनेबेलामा मेसी अन्यत्र क्लब जाने कुरा आउने गरेको छ । मेसीलाई क्लबप्रति माया भए पनि बार्यनसँगको खेलपछि क्लबमा ब्यापक परिवर्तनको आवश्यकता रहेको पुष्टि भएको छ । तर, बोर्ड यो कुरामा सकारात्मक छैन ।
२. भालभर्देको बर्खास्ती
मेसीले सन् २००४ देखि सँधै राम्रा प्रशिक्षक पाए । फ्रांक राइकार्ड, पेप ग्वार्डिवला, टिटो भिलानोभा, टाटा मार्टिनो, लुइस इन्रिके (केही विवादबाहेक) र अर्नेष्टो भालभर्देको अन्डरमा बसेर मेसीलाई खेल्न सजिलो भयो । तर, भालभर्देलाई बर्खास्त गरेर क्विके सेटियनलाई ल्याएपछि उनी सन्तुष्ट थिएनन् ।
३. चित्त नबुझ्ने योजना
क्लबको योजनाप्रति मेसीले चित्त बुझाएनन् । हरेक सिजन बनाइएका योजनाले क्लबको छवीलाई गिराउने काम भयो । क्लबमा फिट नहुने खेलाडीलाई अनुबन्ध गर्ने, अनावश्यक कुरामा लगानी गर्ने कुरा मेसीलाई चित्त बुझेन । नेयमार बेच्दा आएको २२२ मिलियन युरोको सदूपयोग हुन सकेन । पूर्व स्पोर्टिङ डाइरेक्टर इरिक एभिडालसँग पनि मेसी सन्तुष्ट भएनन् । यसो हुँदा मेसी आफैले आफ्नो करिअर त्यसै सिध्याएको महशुस गरेका छन् ।
४. स्वारेजलाई गरिएको व्यवहार
मेसी र लुइस स्वारेजबीचको सम्बन्ध मैदानभित्र मात्रै होइन बाहिर पनि उत्तिकै राम्रो छ । तर, स्वारेजलाई क्लबले टिममा नपर्ने जानकारी दिएपछि मेसी अझै रुष्ट बनेका हुन् । स्वारेज अझै इज्जत पाउनुपर्ने मेसीको बुझाइ छ ।
५. उपाधि जित्ने लक्ष्य नहुनु
क्लबले रोनाल्ड कुमनलाई प्रशिक्षकको रुपमा नियुक्ती दिनुअघि नै मेसीले क्लब छोड्ने योजना बनाइसकेका थिए । तर, कुमनसँगको कुराकानीपछि मेसी सन्तुष्ट भएनन् । उनको योजनाले उपाधि जित्न नसकिने विश्वास मेसीलाई भएपछि उनले अन्य क्लब विकल्पको रुपमा रोजेको बुझिएको छ ।
यद्यपी, मेसीले सार्वजनिक रुपमा क्लब छोड्न लागेको घोषणा गरिसकेका छैनन् । सोही कारण उनीसँग क्लबले वार्ता गरेको खण्डमा उनले बार्सिलोनालाई गर्ने मायाको कारण क्लब छोड्न नसक्ने झिनो आशा रहेको समाचारहरु आइरहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस