कीर्तिपुर मैदानमा ओमानको लगातार दोस्रो जित, अमेरिका ६ विकेटले पराजित
काठमाडौं - कीर्तिपुरमा जारी एक दिवसीय विश्वकप लिग टु सिरिजमा ओमानले लगातार दोस्रो जित निकालेको छ ।
नेपाल, अमेरिका र ओमान बीचको एक दिवसीय सिरिजमा ओमानले दोस्रो जित निकालेको हो । पहिलो दिन नेपाललाई १७ रनले पराजित गरेको ओमानले अमेरिकालाई ६ विकेटले जित निकालेको छ ।
टस जितेर फिल्डिङ रोजेको ओमानलाई अमेरिकाले २१४ रनको चुनौती दिएको थियो । जवाफी ब्याटिङमा ओमानले तीन बल बाँकी रहँदा चार विकेट गुमाउँदै लक्ष्य भेटायो ।
ओमानका जितमा अकिब लियासले सर्वाधिक ७२ रन जोडे । ११० दल सामना गरेका अकिबले दुई छक्का र ६ चौका प्रहार गरेका थिए । लगातार दुवै खेलमा प्लेअर अफ दी म्यान बनेका मोहमद नादिमले ५५ रनको अर्धशतकीय पारी खेलेका थिए । उनले अमेरिकालाई २१३ रनमा समेट्दा तीन विकेट समेत लिए ।
ओपनर जितेन्दर सिं ४ रनमै आउट भए पनि ओमानका अन्य ब्याट्सम्यान सम्हालिएर खेले । कप्तान जिसन क्याकसुडले ११ र अविजित रहेका सुरजकुमार नेपालीले ३५ बलमा बिस्फोटक ब्याटिङ गर्दै ३३ रन जोडे । उनले एक छक्का र दुई चौका प्रहार गरे ।
अमेरिकाका लागि भने लान होल्याण्डले सर्वाकि ६५ रन जोडे । अमेरिकाका लागि अक्ष होल्याण्डले ४४, टिमिल पटेलले १६, आरोन जोन्सले १२ र जेभिएर मार्सलले १३ रन जोडे । निर्धारित ५० ओभर नै खेलेको अमेरिका अलआउट भएको थियो । नेपाल, अमेरिका र ओमान बीचको सिरिज बुधबारबाट शुरु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस