काठमाडौं - नेपालको संविधान (दोस्रो) संशोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ ।

शनिवार (आज) प्रतिनिधिसभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पेश गरेको नेपालको संविधान (दोस्रो) संशोधन विधेयक २०७७ सर्वसम्मतिले पारित गरेको हो ।

२५८ जनाले मतदान गरेकोमा सबै संशोधनको पक्षमा भोट गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राजपा, संघीय समाजवादी पार्टी, नेमकिपा र राष्ट्रिय जनमोर्चाले संविधान संशोधनको पक्षमा मतदान गरेका हुन् । नयाँ नक्सा जारी भएसँगै संविधानको अनुसूची ३ मा रहेको निशान छापमा रहेको नेपालको नक्सा अद्यावधिक भएकाले संविधान संशोधन गरिएको हो ।

७ जेठको मन्त्रिपरिषदले पारित गरेको नेपालको नयाँ नक्सा ९ जेठमा सार्वजनिक गरिएको थियो । नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरिएको छ ।