काठमाडौं - इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट आगामी सेप्‍टेम्बर १९ देखि यूएईमा सुरु हुँदै छ । आइपिएलमा सहभागी हुने ८ टिममध्येको एक दिल्ली क्यापिटल्सको टिममा नेपालका युवा स्पिनर सन्दीप लामिछाने पनि रहेका छन् । अघिल्ला दुई सिजनमा दिल्लीबाट अधिकांश खेलको ‘प्लेइङ ११’ मा परेका सन्दीपको यस सिजन भने नियमित टोलीमा पर्ने सम्भावनामाथि प्रश्‍न चिन्ह उठेको छ ।

दिल्लीले बिहीबार इंग्ल्यान्डका ओपनर जेसन रोयको स्थानमा अष्ट्रेलियाका बायाँ हाते तीव्र गतिका बलर ड्यानियल साम्सलाई टोलीमा भित्र्याएको छ । इंग्ल्यान्डको प्रशिक्षण भइरहेको ओल्ड ट्राफर्डमा अभ्यासको क्रममा बायाँ मांशपेशीमा समस्या आएपछि रोयले शुक्रबारदेखि सुरु भएको पाकिस्तानविरुद्धको तीन टी-२० र आइपिएल गुमाउने भउका हुन् ।

२७ वर्षिय साम्स सेप्टेम्बर पहिलो सातादेखि इंग्ल्यान्डविरुद्ध हुने टी २० र एकदिवसीय श्रृंखलाका लागि अस्ट्रेलियाको टोलीमा पहिलो पटक परेका छन् । साम्सले २०१९-२० को अस्ट्रेलियन बिग ब्यास लिग क्रिकेटमा सर्वाधिक विकेट लिएका थिए । उनले तल्लोक्रममा राम्रो ब्याटिङ पनि गर्ने गर्दछन् । सोही प्रदर्शनका कारण उनलाई अस्ट्रेलियन टोलीमा समावेश गरिएको छ ।

यता दिल्लीले उनलाई भित्र्याउँदा सन्दीपको भाग्यमा भने केही धक्का लागेको छ । चारजना विदेशी खेलाडी राख्‍न पाउने प्रावधान अनुसार साम्स र कागिसो रबाडाले दिल्लीको तीव्र गतिको बलिङ सम्हाल्ने देखिएको छ । साम्स वा रबाडाले खराब प्रर्दशन गरेको खण्डमा नोर्टजे विकल्पमा रहनेछन् । दिल्लीमा भारतीय तीव्र गतिका उत्कृष्ट बलर नहुँदा दुवै विदेशी खेलाडी खेलाउने रणनीति देखिन्छ । दिल्लीमा भारतीय तीव्र गतिका बलरको रुपमा इशान्त शर्मा, मोहित शर्मा, तुषार देशपान्डे र आवेश खान छन् ।

तेस्रो विदेशी खेलाडीको रुपमा वेस्टइन्डिजका मध्यक्रमका ब्याट्सम्यान शिम्रोन हेटमायरको स्थान लगभग पक्काजस्तै छ । हेटमायरले वेस्टइन्डिज र फ्रेन्चाइज टिमहरुका लागि उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । हेटमायर चल्न नसकेको खण्डमा अस्ट्रेलियन विकेटकिपर एलेक्स केरीले मौका पाउन सक्ने देखिन्छ ।

चौथो विदेशी खेलाडीको रुपमा सन्दीपसँगै, मार्कस स्टोइनिस र किमो पलबीच प्रतिस्पर्धा हुनेछ । यी तीनै युवा खेलाडीले उच्च प्रर्दशन गर्दै आएका छन् । दिल्लीमा भारतीय अनुभवी लेग स्पिनर अमित मिश्रा र अफ स्पिनर रविचन्द्रन आश्विन छन् । अलराउन्डर अक्षर पेटललाई मैदान उतार्दा दिल्लीसँग तीन स्पिनर हुनेछन् । जसले गर्दा सन्दीप नभए दिल्ली मध्यम गतिका बलिङ र ब्याटिङ दुवै गर्न सक्ने अलराउन्डर स्टोइनिसलाई मैदानमा उतार्न सक्छ ।

यस्तोमा सन्दीपले खेल्ने सम्भावनाबारे अनेक टिप्पणीहरु चलिरहेकै बेला दिल्ली कुन रणनीतिका साथ अघि बढ्छ भन्‍ने कुरा रोचक हुने देखिएको छ । हाल सिपीएल क्रिकेट खेल्नका लागि ट्रिनिडाड एन्ड टोबेगोमा रहेका सन्दीप उतैबाट यूएई पुग्‍नेछन् । जारी सिपीएलमा ५ खेल खेलेका उनले ७ विकेट लिइसकेका छन् ।