काठमाडौं - यूरोपा लिग अन्तर्गत गएराति सम्पन्‍न अन्तिम १६ को दोस्रो लेगको खेलमा म्यान्चेस्टर युनाइटेड र इन्टर मिलान आ-आफ्नो खेलमा विजयी भएका छन् । युनाइटेडले लास्क तथा इन्टरले गेटाफेलाई हराएको हो ।

घरेलु मैदानमा सम्पन्‍न दोस्रो लेगको खेलमा युनाइटेडले २-० को जीत दर्ता गर्ने क्रममा जेसे लिंगार्ड र एन्थनी मार्सियालले एकएक गोल गरे । लास्कका लागि फिलिप वेसिङ्गरले एक गोल गरे ।

खेलमा अग्रता भने लास्कले लिएको थियो । ५५औं मिनेटमा वेसिङ्गरले गोल गर्दै अग्रता दिलाए पनि त्यो २ मिनेटभन्दा बढीसम्म टिक्न सकेन । लिंगार्डले ५७औं मिनेटमा गोल फर्काए भने मार्सियालले ८८औं मिनेटमा गोल थप्दै युनाइटेडका लागि दोस्रो लेगमा पनि विजयको बाटो खुला गरिदिए ।

यद्यपि युनाइटेडसँग पहिलो लेगमै भारी अन्तरको अग्रता रहेको थियो । पहिलो लेगमा लास्कलाई उसैको मैदानमा ५ ० ले हराएको युनाइटेड समग्रमा ७ १ को जीत दर्ता गर्दै सहज रुपमा क्‍वाटरफाइनल प्रवेश गरेको हो । युनाइटेडले सेमिफाइनल प्रवेशका लागि कोपनहेगनसँग प्रतिष्पर्धा गर्नेछ ।

यस्तै अर्को खेलमा इन्टर मिलानले गेटाफेलाई २-० ले हराउँदै क्‍वाटरफाइनलमा प्रवेश गरेको हो । कोरोना महामारीका कारण लकडाउन हुँदा खेल्न बाँकी रहेका यी दुई टिमकासहित अन्य केही खेलहरुको पहिलो लेग रद्द गरिएको थियो र एउटा मात्र लेग खेलाइने निर्णय भएको थियो ।

इन्टरको जीतमा रोमेलु लुकाकु र क्रिस्चियन एरिक्सनले एकएक गोल गरे । पहिलो हाफको ३३औं मिनेटमा लुकाकुले गोल गरेका थिए भने दोस्रो हाफको ८३औं मिनेटमा एरिक्सनले गोल थपेका थिए ।

यस्तै गएराति सम्पन्‍न अन्य खेलहरुमा साख्तर डोनेट्स्कले वुल्फ्सबर्गलाई तथा कोपनहेगनले इस्तानबुललाई समान ३-० गोलअन्तरले हराएका छन् ।