काठमाडौं - ब्रुनो फर्नान्डिसको पेनाल्टी गोलसंगै म्यान्चेस्टर युनाइटेडले टोटनह्याम हटस्पर्सलाई बराबरीमा रोकेको छ ।

शनिबार राति भएको खेलमा युनाईटेडले टोटेनहमसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । खेलको ८१ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै फर्नान्डिसले युनाइटेडलाई हारबाट जोगाएका हुन् ।

डिसेम्बर २६ पछि पहिलो पटक पाउल पोग्बा मैदानमा देखिएका थिए । उनी करिब ६ महिना मैदानमा देखिएनन् । उनले खुट्टाको सल्यक्रिया गरेका थिए । उनी वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा राम्रो प्रभाव जमाएका थिए ।

स्टेभन बर्गविन्जनले २७ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । स्टेभनको कडा प्रहार युनाईटेडका गोलकिपर डेविड गियाले रोक्न सकेनन् । बराबरपछि युनाइटेड लिगको पाँचौ स्थानमा उक्लिएको छ भने टोटनह्याम लिगको आठौँ स्थानमा रहेको छ ।