काठमाडौं - अखिल नेपाल फुटबल संघ(एन्फा) को कारबाहीमा परेका विमलघर्तीमगरसहित तीन खेलाडीको विकल्पमा १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि अर्का तीन खेलाडीलाई मौका दिइएको छ ।

अनुशासन उल्लङ्घन गरेका कारण एन्फाको कारबाहीमा परेका विमल घर्तीमगर, अन्जन बिष्ट र दिनेश राजवंशीले साग खेल्न नपाउने भएपछि उनीहरूको स्थानमा तीन वैकल्पिक खेलाडीलाई लागि मौका दिइएको हो ।

एन्फाले साग फुटबल टोलीमा प्रेजन तामाङ, राजीव लोप्चन र राजेश परियारलाई राखेको छ । नयाँ तीनै जना खेलाडीले एन्फा एकडेमी हुँदै नेपालको उमेर समूहमा खेलिसकेका खेलाडी छन् ।

ठमेलको विभिन्न नाईट क्लब र डिस्को गएको आरोपमा  विमल, अन्जन र दिनेशले विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेल पनि गुमाएका थिए ।उनीहरूमाथि अहिले एन्फाको अनुशासन समितिले छानविन गरिहरेको छ ।