रुकुम-पश्चिमकाे घटना छानबिन गर्न पौडेलको संयोजकत्वमा संसदीय विशेष समिति गठन
काठमाडौं - रुकुम पश्चिम घटनाको छानबिन गर्नका लागि संसदीय विशेष समिति गठन भएको छ ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले नेकपाका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय विशेष समिति गठन भएको घोषणा गरेका हुन् । संसदीय विशेष समिति सदस्यमा सांसदहरू इकवाल मियाँ, दुर्गा पौडेल, पावर्ती विशुंखे, प्रकाश सराइली, विमला विक, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् ।
प्रतिनिधिसभाको बैठकमा पटकपटक प्रश्न उठेको उक्त घटनाको यथार्थ अध्ययन गरी प्रतिवेदन पेश गर्न आफूले सदनलाई जानकारी गराइसकेको र प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम सो समिति गठन गरिएको सभामुख सापकोटाले बताए ।
समितिलाई ३० दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ । यही जेठ १० गते चौरजहारी नगरपालिका-८ स्थित सोतीमा अन्तरजातीय विवाहको विषयमा विवाद हुँदा नवराज विक लगायत ६ जना जाजरकोटका युवाको हत्या भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस