एजेन्सी - युवा फरवार्ड अन्सु फातीको गोलमा बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा इन्टर मिलानलाई २-१ ले पराजित गर्दै बार्सिलोनाले अन्तिम १६ मा स्थान पक्का गरेको हो । बार्सिलोनाको जितमा फाती र कार्लेस पेरेजले एकएक गोल गरे । इन्टरका लागि रोमेलु लुकाकुले एक गोल गरेका थिए ।

खेलको २३ औं मिनेटमा पेरेजको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । पेरेजले च्याम्पियन्स लिगमा डेब्यु गरेकै खेलमा गोल गर्न सफल भएका हुन् ।

४४ औं मिनेटमा लुकाकुले गोल गर्दै इन्टरलाई खेलमा फर्काए । तर खेलको ८५ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका फातीले ८६ औँ मिनेटमा नै गोल गर्न सफल रहे । यससँगै फातीले च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडीको नयाँ कीर्तिमान बनाएका छन् ।

जितसँगै बार्सिलोना समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ भने इन्टर समूह चरणबाट बाहिरिएको छ । बार्सिलोनाले ६ खेलमा १४ अंक जोड्दा इन्टरले ६ खेलमा ७ अंक जोडेको छ ।समूह उपविजेताको रुपमा बोरुसिया डर्टमण्ड रहेको छ ।