काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध संसदको तल्लो सदन प्रतिनिधिसभाले खेद प्रस्ताव पारित गरेको छ । चार जना महिला सांसदमाथि गरेको जातिवादी टिप्पणीपछि ट्रम्पविरुद्ध संसदले खेद प्रस्ताव पारित गरेको हो ।

उक्त प्रस्तावमा ट्रम्पको अभिव्यक्तिले अमेरिकीमा भय र त्रासलाई वैधानिकता दिने काम गरेको उल्लेख गरिएको छ । ट्रम्पले गत आइतबार चारजना महिला सांसदलाई लक्षित गर्दै ट्विट गरेपछि नस्लवादी टिप्पणी गरेको भन्दै ट्रम्पको चर्को आलोचना भइरहेको छ ।

ट्रम्पले आफू नस्लवादी नभएको बताएका छन् । चार महिला सांसदहरु पूर्ण रुपमा असफल राष्ट्रबाट अमेरिका आएको भन्दै उनीहरुलाई आफ्नै देश फर्किन भनेका थिए ।

उनको ट्विटपछि उनलाई जातिवादी भएको आरोप लगाइको थियो। तर उनले उक्त आरोपको बचाउँ गर्दै पछिल्ला ट्विटमा आफू जातिवादी नभएको स्पष्टीकरण दिएका थिए। उनले भनेका छन्, 'मेरो ट्विट जातिवादी छैन र म पनि जातिवादी होइन।'

यद्यपि यसबाट रिपब्लिकन र अन्य सांसदले समेत ट्रम्पविरुद्धको प्रस्तावमा साथ दिएको देखिएको छ । १८७ जना डेमोक्रेट सांसद रहेको प्रतिनिधिसभामा सो प्रस्ताव २४० मतका साथ पारित भएको हो ।