पाकिस्तान र इंग्ल्यान्डबीचको खेल मौसमले विथोल्यो
काठमाडौं - इंग्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेष्ट खेलमा लगातार दोस्रो दिन मौसम बाधक बनेको छ । पहिलो दिन प्रभावित बनेको खेलको दोस्रो दिन पनि वर्षा र खराब प्रकाशका कारण पूरै खेल हुन सकेन ।
दोस्रो दिनको समाप्तिमा पाकिस्तानले ८६ ओभरमा ९ विकेटको क्षतिमा २ सय २३ रन बनाएको छ । विकेटकिपर मोहम्मद रिजवान १ सय १६ बलमा ५ चौका सहित ६० रनमा अविजित छन् । नसिम शाहले १ रनबाट साथ दिने छन् ।
उप कप्तान बाबर आजम १ सय २७ बलमा ३ चौका सहित ४७ रनमा क्याच आउट भए । बाबरलाई स्टुअर्ट ब्रोडले जस बटलरबाट क्याच आउट गराएका थिए । असाद शफीक ५, मोहम्मद अब्बास २ र शाहिन अफ्रिदी शून्यमा आउट भए ।
त्यसअघि पहिलो दिन ओपनर शान मसूदलाई जेम्स एन्डरसनले तेस्रो ओभरको दोस्रो बलमा एक रनमा एलबिडब्लू आउट गरे । दोस्रो विकेटको लागि आबिद अली र कप्तान अजहर अलीले ७२ रनको साझेदारी गर्दै समालिने प्रयास गरेका थिए । तर कप्तान अजहर अलीलाई एन्डरसनले २० रनमा रोरी बन्र्सबाट क्याच आउट गराएपछि पाकिस्तानले नियमित विकेट गुमाएको थियो ।
साम करनले रोरीबाट क्याच गराउनु अघि ओपनर आबिद अलीले १ सय ११ बलमा ७ चौका सहित ६० रनको योगदान दिए । ११ वर्षपछि पाकिस्तानको टोलीमा पूनरागमन फवाद आलमलाई क्रिस वोक्सले शून्यमा एलबिडब्लू आउट गर्दै पेभिलिएन फर्काएका थिए ।
इंग्ल्यान्डका जेम्स एन्डरसन र स्टुअर्ट ब्रोडले समान ३ विकेट लिएका छन् । साम करन र क्रिस वोक्सले पनि १(१ विकेट लिएका छन् । तीन खेलको टेष्ट सिरिजमा इंग्ल्यान्डले १–० को लिएको छ ।
फेसबुक पेज Like गर्नुहोस