रोनाल्डोको गोलमा युभेन्ट्स हारबाट जोगियो
एजेन्सी - पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको गोलमा युभेन्ट्सले इटालियन सिरी 'ए' फुटबलमा बराबरीमा खेलेको छ ।
आइतबार राति भएको खेलमा साविक विजेता युभेन्ट्सले सासोउलोसँग २-२ गोलको बराबरी खेलेको हो ।
कप्तान लियोनार्दो बोनुचीको गोलबाट घरेलु टोली युभेन्ट्सले सुरुवाती अग्रता लिएको थियो । उनले २० औँ मिनेटमा गोल गरेका हुन् । तर, २२ औं मिनेटमा जेरीमी बोगाले गोल गर्दै सासोउलोलाई १-१ गोलको बराबरीमा फर्काए ।
दोस्रो हाफको ४७ औं मिनेटमा फ्रान्सिस्को कापुटोले गोल गर्दै सासोउलोलाई २-१ को अग्रता दिलाए । तर, खेलको ६८ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युभेन्ट्सलाई बराबरीमा फर्काए । बाँकी समयमा थप गोल हुन नसक्दा दुवै टिमले अंक बाँडे ।
यो बराबरीसँगै युभेन्ट्सले १४ खेलबाट ३६ अंक जोडेको छ । युभेन्ट्स शीर्ष स्थानमा रहेको छ । सासोउलो १४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस