काठमाडौं - इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साविक विजेता म्यानचेस्टर सिटीलाई हराएको छ । आइतबार राति भएको म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई २–० गोल अन्तरले हराएको हो ।

ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जिताउन एन्थोनी मार्सियल र स्कट म्याकटोमिनीले एक–एक गोल गरे । खेलको ३०औं मिनेटमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा म्याकटोमिनीले गोल गर्दै युनाइटेडलाई २–० को जित दिलाए ।

सिटीका गोलकिपर एडर्सनले खराब प्रदर्शन गरेको खेलमा सिटीका सर्जियो अग्युएरोले एक गोल गरे । तर, उनको गोल भीएआरले अफसाइड देखाइदियो । जितसँगै युनाइटेड लिगको पाँचौं स्थानमा उक्लिएको छ । युनाइटेडले २९ खेलमा ४५ अंक जोडेको छ ।

सिटी ५७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । म्यानचेस्टर डर्बीमा सिटीको हारसँगै उपाधि होडमा लिभरपुललाई सहज भएको छ । लिभरपुल सिटी भन्दा २५ अंकले अघि रहेको छ । लिभरपुलको ८२ अंक छ।