काठमाडौँ - अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा तीन महिना प्रतिबन्ध लगाइएको छ। 

‘कोपा अमेरिका भ्रष्ट’ रहेको भन्ने विवादित अभिव्यक्ति दिएपछि दक्षिण अमेरिकी फुटबल महासंघले उनलाई प्रतिबन्ध लगाएको हो।

हालै सम्पन्न कोपा अमेरिका कपमा तेस्रो भए पनि मेस्सीले भ्रष्टाचारको हिस्सेदार नबन्ने भन्दै पदक लिन अस्वीकार गरेका थिए। उनले कोपा अमेरिकाको उपाधि ‘ब्राजिलकै लागि फिक्स’ गरिएको विवादास्पद टिप्पणी गरेका थिए। 

सेमिफाइनलमा अर्जेन्टिना ब्राजिलसँग २–० ले पराजित भएको थियो। प्लेअफ खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले हराउँदै तेस्रो भयो। उक्त खेलमा मेस्सी ३७ औं मिनेटमै रातो कार्ड पाएर मैदान छाड्न बाध्य भएका थिए।

महासंघले मेस्सीलाई ५० हजार डलर जरिवाना पनि तोकेको छ। बार्सिलोनाका फरवार्डसमेत रहेका ३२ वर्षीय मेस्सीलाई प्रतिबन्धविरुद्ध अपिल गर्न सात दिनको समय दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। प्रतिबन्धका कारण मेस्सीले आगामी सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीसँग हुने मैत्रीपूर्ण खेल गुमाउनेछन्।