काठमाडौं-सरकारले भूमिहीन अति विपन्न दलित समुदायलाई आवासका निम्ति भूमि उपलब्ध गराउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्न अति विपन्न समुदायका दलित समुदायलाई भूमि उपलब्ध गराउन लागेको हो । कति जमीन उपलब्ध गराइने हो भन्ने सार्वजनिक भएको छैन ।

यसका लागि मन्त्रालयले आवश्यक नीति तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्तुत गरेको जनाएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजित विधेयकअन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको विभिन्न शीर्षकमा सांसद रामप्रीत पासवानले उठान गर्नुभएको प्रश्नको जवाफमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले संविधान कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “ भूमिहीन अति विपन्न दलित समुदायले आवासका लागि जमीन पाउँछन् । यसका लागि सरकारले आवश्यक नीति र नियम तयार गर्दैछ । यो छिट्टै आउँछ ।”

गोरखापत्र दैनिकबाट