काठमाडौं - इङ्गलिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीका फरवार्ड जेमी भार्डीले गोल्डेन बुट जितेका छन् । यो सिजनको प्रिमियर लिगमा उनले २३ गोल गर्दै गोल्डेन बुट प्राप्त गरेका हुन् ।

निकटतम प्रतिद्वन्द्वी आर्सनलका पिएर एमेरिक औबामेयाङ र साउथह्याम्टनका ड्यानी इन्ग्सलाई पछि पार्दै भार्डीले उपाधि जित्न सफल भए । उनीहरुले समान २२ गोल गरेका थिए ।

यस्तै, म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर केभिन डे ब्रुएनले सिजनभर २० असिस्ट प्रदान गर्दै सर्वाधिक असिस्टको उपाधि जिते । उनले एकै सिजनमा सर्वाधिक असिस्ट दिने आर्सनलका थिएरी हेनरीको कीर्तिमानीसँग बराबरी गरेका हुन् । सिटीका गोलरक्षक एडरसनले पनि सिजन अवधिभर १६ क्लिन सिट गर्दै गोल्डेन गोल्भ्स जिते ।

यो सिजनको इङ्गलिस प्रिमियर लिग अन्त्य भएको छ । लिगमा लिभरपुलले यसअघि नै उपाधिमाथि कब्जा जमाइसकेको छ । च्याम्पियन लिभरपुलसँगै म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सी शीर्ष चारमा रहँदै आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट हुन सफल भएका छन् ।

यस्तै, लेस्टर सिटी पाँचौं स्थान र टोटनहम छैठौं स्थानमा रहेका छन् । त्यसैगरि नर्विच सिटी, वाटफर्ट तथा बर्नमाउथ अन्तिम तीनमा रहँदै दोस्रो डिभिजनमा झरेका छन् ।