काठमाडौं - क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न ट्रिनिडाड जानुपूर्व नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले कोरोना परीक्षण गराएका छन् ।

उनले मङ्गलबार ललितपुरको सानेपास्थित स्टार अस्पतालमा आफ्नो स्वाब नमूना संकलन गराएको उनका व्यवस्थापक रमन शिवाकोटीले बताएका छन् । उनको रिपोर्ट बुधबारसम्म आउनेछ ।

आगामी अगस्ट १९ देखि ट्रिनिडाड एण्ड टोबागोमा सुरु हुने सीपीएलमा सन्दीपलाइ जमैका तलाहवाजले अनुबन्ध गरिसकेको छ । ट्रिनिडाड पुगेर सीपीएल खेल्नुअघि उनी दुई सातासम्म क्‍वारेन्टिनमा बस्‍नुपर्ने छ ।

यद्यपि सन्दीप कहिले प्रस्थान गर्ने भन्‍नेबारे हालसम्म टुंगो लाग्‍न सकेको छैन । नेपालबाट हुने नियमित अन्तर्राष्ट्रिय उडान हाल बन्द रहेकाले सन्दीपको यात्रा अनिश्‍चित बनेको हो । मंगलबार बेलुकासम्म उडानबारे निर्णय हुने व्यवस्थापक शिवाकोटीको भनाइ छ ।

सीपीएल खेल्न जानुअघि खेलाडीले आफ्नै देशमा कोरोना परीक्षण गरेर संक्रमण नभएको प्रमाण लिएर जानुपर्ने प्रावधान छ ।