काठमाडौं - बार्सिलोनाले सोमबार आफ्ना प्रशिक्षक क्विक सेटिनलाई बर्खास्त गरेको छ । युरोपेली च्याम्पियन्स लिग क्वाटरफाइनलमा बायर्न म्युनिकको हातबाट ८–२ ले पराजित भएको दुई दिनपछि सेटिनलाई हटाइएको हो ।

बार्सिलोनाले ६१ वर्षीय सेटिनलाई जनवरीमा मात्र नियुक्त गरेको थियो ।

त्यस अगाडि क्लबले दुई पल्ट लिग उपाधि दिलाउने एरनेस्टो भाल्भरेडेलाई पनि बर्खास्त गरेको थियो । त्यतिबेला क्लब अंकतालिकाको शीर्ष स्थानमा पनि थियो ।

यस सिजन भने बार्सिलोना उपाधिविहीन रह्यो र क्लबले कुनै उपाधि जित्न नसकेको १२ वर्षयता पहिलो हो । क्लब लिगमा रियल म्याड्रिडपछि दोस्रो स्थानमा रह्यो भने कोपा डे रेमा क्वाटरफाइनलबाट बाहिरिएको थियो ।

बार्सिलोनाले अध्यक्ष पदको निर्वाचन सन् २०२१ को मार्चमा गर्ने घोषणा पनि गरेको छ ।