काठमाडौं - कोरोना भाइरसको कारण रोकिएको इंग्लिस प्रिमियर लिग १७ जुनदेखि पुन: सुरु हुँदैछ । त्यसको तयारीका लागि लिगले एक अर्कासँग मैत्रीपूर्ण खेल खेल्न अनुमति दिएको छ ।

केहिदिन अघि क्लबहरुले एक अर्कासँग खेल्न पाउँ भनेर प्रस्ताव गरेका थिए । त्यसलाई स्वीकृत दिएको हो । तर, खेलमा कडा नियम अपनाउनु पर्नेछ ।

नियमानुसार मैत्रीपूर्ण खेलमा अफिसियल रेफ्री हुने छैनन् । क्लबका कोचिङ स्टाफले रेफ्रीको भूमिका निभाउनु पर्नेछ । खेलाडीहरु आफ्नै कारमा खेल स्थलसम्म पुग्नुपर्नेछ । खेलाडीहरुको कोरोना परिक्षण गरिएको र नेगेटिभ रिपोर्ट हुनुपर्नेछ ।

प्रोजेक्ट रिस्टार्ट अन्तर्गत प्रिमियर लिगका क्लबहरुले दोस्रो चरणमा अहिले सामूहिक प्रशिक्षण गरिरहेका छन् । शुरुमा व्यक्तिगत प्रशिक्षण गरेका खेलाडिले पछि कन्ट्याक्ट ट्रेनिङ गर्न थालेका थिए ।

लिग लिडर लिभरपुलले एनफिल्डमा सोमबार ११ ए साइड गेम खेलेको थियो । मैत्रीपूर्ण खेल स्टेडियम र ट्रेनिङ ग्राउण्ड जहाँ पनि खेल्न सकिनेछ । जहाँ जोखिमलाई पूर्ण रुपमा पालना गरिनेछ ।