बाढीपहिरोमा परेकाको उद्धार र राहत वितरणमा कुनै कमी हुँदैन : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अकल्पनीय बाढीपहिरोमा परेकाको उद्धार एवं राहत वितरणमा सरकारले कुनै कमी हुन नदिने बताएका छन् ।
अमेरिकाको न्यूयोर्कमा ७९औँ महासभामा सहभागी भई आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भने, ‘सरकारी एवं जनस्तरबाट विपद्मा परेकाको उद्धार जारी छ, सरकार उहाँहरूको साथमा छ, म उहाँहरूलाई विश्वास दिलाउँछु कि यस विपद्मा सहयोग गर्न, राहत पर्याउन र उद्धार गर्न सरकारबाट कुनै कमी हुने छैन ।’
उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास दिलाउँदै प्रधानमन्त्री ओलीले विपद्का समयमा अपनाइएको सुझबुझ र धैर्यताका लागि देशवासीलाई धन्यवाद ज्ञापन व्यक्त गरे । उनले विपद्मा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
प्रधानमन्त्रीले ओलीले भने, ‘म मुलुक बाहिर रहँदा देशमा अकल्पनीय बाढी पहिरोले ठूलो जनधनमा क्षति पुर्यायो, धेरै जनताको मृत्यु भयो, धेरै अझै बेपत्ता हुनुहुन्छ, कयौँ घाइते हुनुहन्छ, म मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
फेसबुक पेज Like गर्नुहोस