काठमाडौं - च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा साविक विजेता लिभरपुल स्पेनी क्लब एथ्लेटिको मड्रिडसँग हारेको छ ।

घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले लिभरपुललाई १–० ले हराएको हो । एथ्लेटिकोको जितमा चौथो मिनेटमा साउल निगुएजले गरेको गोल नै निर्णायक बन्यो ।

लिभरपुलले गोल गर्ने दुई मौका पाएका थियो । तर, त्यसलाई सदुपयोग गर्न सकेन । दोस्रो लेग आउँदो मार्च ११ मा लिभरपुलको घरेलु मैदानमा हुनेछ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत यो सिजनको नकआउट चरण मंगलवारदेखि सुरु भएको छ । नकआउट चरण सुरु नहुँदै आउँदो यामका लागि स्थान पक्का गरिसकेको साविक विजेता लिभरपुलका लागि भने अन्तिम १६ को यात्रा कष्टपूर्ण देखिएको छ ।