एजेन्सी - स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर स्यामुअल उम्टीटीले ३३ हजार युरो जरिवाना तिर्नुपर्ने भएको छ । बार्सिलोनास्थित एक अदालतले उम्टीटीले भाडामा लिएको घरमा क्षति पुर्याएको भन्दै उक्त जरिवाना सुनाएको हो । 

उम्टीटीले यसअघि १३ हजार ८१४ युरो बुझाइसकेको भए पनि उनले बाँकी १९ हजार १२२ युरो पनि बुझाउनुपर्ने उल्लेख छ ।

उम्टीटी आफू पहिला बसेको घरबाट सरेका छन् । तर, घर सर्दा तोडफोड भएको भन्दै घर मालिकले उनीविरुद्ध मुद्दा दायर गरेका थिए । उक्त घरको किचनमा आगलागी भएको, सिसाहरु अघि सरेको, फर्निचरहरुमा क्षति पुगेको, कुकुरले पनि घरमा क्षति पुर्याएको कारणले गर्दा उनले उक्त रकम जरिवानास्वरुप तिर्नुपर्ने भएको हो । 

घर मालिकले भने शुरुमा १ लाख ८३ हजार युरो जरिवाना तिर्नुपर्ने भनेर मुद्दा दायर गरेका थिए ।