काठमाडौं - काठमाडौं उपत्यकामा आज विहानबाट निषेधाज्ञा लागू भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा विहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको हो । यसअघि पहिलोपटक २०७६ चैत ११ देखि सुरु भएको लकडाउनलाई सरकारले ८० दिनपछि खुकुलो पारेको थियो। खुकुलो पारेपछिका ४० दिनसहित लकडाउन १ सय २० दिनको थियो।  

विगत र अहिलेको लकडाउनमा केही मूलभूत भिन्नता छन्। विगतमा मन्त्रिपरिषद्ले निर्णय गरी सरकारले देशव्यापी लकडाउन गरेको थियो भने अहिले सरकारले स्थानीय प्रशासनलाई अधिकार दिएको छ। त्यति मात्र होइन, अहिले स्थानीय सरकारलाई नै आफ्नो ठाउँको अवस्था विश्लेषण गरी लकडाउन वा सिल गर्ने अधिकार छ। र, यही अधिकार प्रयोग गर्दै स्थानीय सरकारले आफ्नो ठाउँको संभावित जोखिमलाई ध्यानमा राखी क्षेत्रगत लकडाउन गर्ने गरेका छन्। अहिले पनि देशका विभिन्न स्थानमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका छन् भने कतिपय स्थानीय तहले लकडाउन गरेका छन्। अझ कतिपय स्थानमा त स्थानीय सरकारअन्तर्गतका वडाअध्यक्षहरूले नै क्षेत्रगत ‘सिल’ समेत गर्दै आएका छन्।    

काठमाडौं उपत्यकामा पनि सरकारले स्थानीय प्रशासनलाई दिएको अधिकारअनुसार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिको संयुक्त बैठकले सातासम्मको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो। तर, सोमबार बसेको मन्त्रिपरिषद बैठकले त्यसलाई बढाएर १५ दिन निषेधाज्ञा लागु गर्न निर्देशन दिएको छ । 

निषेधाज्ञाको पहिलो २ दिन विचार गर्नकै लागि केही खुकुलो बनाउने र त्यसपछि लापरबाही बढे कडा गर्ने प्रशासनको तयारी छ ।नागरिकले कडाइका साथ पालना नगरे त्यसपछि कडा बनाउने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार बिहीबारबाट शुरु हुने निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा, व्यापार, सार्वजनिक र निजी सवारी, र हिडडुलमा समेत प्रतिबन्ध लगाइने छ । एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, बैंक, वित्तीय संस्था, दूरसंचार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनका लागि खटिएका सवारी सञ्चालन हुन पाउँने छन् । खाद्य सामग्री पसलहरू दैनिक बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म सञ्चालन गर्न पाउने प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।

त्यस्तै, अस्पताल जानुपर्ने बिरामी, कुरुवा एवं मृत्यु संस्कारमा अनिवार्य जानुपर्ने एवम् अन्तर्राष्ट्रिय उडानका भिसा र टिकट हुनेहरूले अनुमति लिएर यात्रा गर्न पाउने छन् । जस्तो काठमाडौंमा रहेर कुनै त्यस्तो अत्यावश्यक काम परेको खण्डमा जिल्ला प्रशासनले अनुमति दिन सक्ने र सवारी साधनको लागि यातायात व्यावसायीहरुसंग सहकार्य गरेको पनि प्रमुख जिल्ला अधिकारी पराजुलीको भनाई छ ।

सरकारी कार्यलय, बैंक, वित्तिय संस्था, सरकारी कर्मचारी लगायतको हकमा भने अफिसको आइडीकार्डले आवतजावत गर्न पाइने छ । संचारकर्मीको हकमा पनि आफू कार्यरत मिडिया हाउसले जारी गरेको आइडी कार्डले आवतजावत गर्न दिने गरी व्यवस्था मिलाइएको छ । 

यस्तै, विकास निर्माण कार्यमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीको साधानको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको सवारी पास लिएर सञ्चालन गर्न पाइनेछ । अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनको लागि सहजीकरण गरिने स्थानीय प्रशासनले जनाएको छ ।

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल, सैलुन ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, चिडियाखाना आदि संचालन गर्न नपाइने समेत आदेशमा उल्लेख छ । विहे, ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासनबाट अनुमति लिएर मात्र गर्न पाउने भएका छन् ।