काठमाडौं - जबरजस्ती करणीको उद्योग गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान शुक्रबार सकिएको छ ।

शुक्रबार काठमाडौंको बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा निवर्तमान सभामुख महरासँगको बयान सकिएको हो । बयानमा महराले आफू पीडित भनिएकी महिला रोशनी शाहीको घरमा नै नगएको जिकिर गरेका छन् ।महराले आफू त्यही बाटो भएर गए पनि पीडितको घरमा भने नपसेको बताएका छन् ।

जिल्ला अदालत, काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र महराको थुनछेक बयान भएको थियो । बयान लामो भएपछि थुनछेक बहस शुक्रबार हुन नपाएको हो । आइतबार थुनछेक बहस सकिए पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा साधारण तारेखमा रिहा गर्ने मध्ये एक आदेश हुनसक्छ ।

बयानलगत्तै महरालाई प्रहरीले पुनः ग्राण्डी अस्पताल लगेको छ । पक्राउ परेको केही दिनपछि अस्वस्थ भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । महरालाई संसद सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि उनी केही दिन सिंहदरबार प्रहरी वृत्तको हिरासतमा बसेका थिए । महराविरुद्ध बिहीबार दिउँसो जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएको थियो ।