पोखरा - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहप्रवक्ता मनिष झाले सरकार सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफ्नो कुण्ठा पोख्ने र प्रतिशोध साँध्नेतिर मात्र लागेको बताएका छन् ।

शनिबार पोखरामा भएको विरोध प्रदर्शनको क्रममा बोल्दै सहप्रवक्ता झाले यस्तो बताएका हुन् । उनले आफ्ना सभापति रवि लामिछानेको गिरफ्तारी सरकारको कुण्ठा र प्रतिशोध मात्र भएको बताए ।

सहकारीको रकम गोर्खा मिडिया प्रालिमार्फत अपचलन भएको र त्यसमा उनको संलग्नता रहेको आशंकामा प्रहरीले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो ।

सहकारी वचत अपचलन संसदीय छानबिन समितिले ४० वटा सहकारीबाट ८७ अर्ब रुपैयाँ अपचलन भएको देखाएको तर सरकारले गोर्खा मिडिया प्रालिमा सहकारीबाट गएको ६५ करोडको विषयलाई मात्र उछालेको सहप्रवक्ता झाको भनाई छ ।

रविलाई पक्राउ गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुण्ठा मात्र पोखेको सहप्रवक्ता झाले बताए । सहकारी समस्यालाई सरकारले समग्रमा हेर्नुपर्ने भन्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी सहयोग गर्न तयार रहेको बताए ।