काठमाडौं - कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण शैक्षिक संस्था लामो समय बन्द हुने अवस्था आएपछि अब विद्युतीय माध्यम प्रयोग गरेर विद्यार्थीलाई घरमै पढाइने भएको छ ।

सरकारले लगाएको बन्दाबन्दी खुलेर जनजीवन सामान्य हुन समय लाग्ने देखिएपछि सिकाइलाई निरन्तरता दिन विद्युतीय माध्यम उपयोग गर्ने गृहकार्यमा सरकार जुटेको हो । सरकारको यस गृहकार्यमा शिक्षकका विभिन्न संस्था, विद्यालय तथा शिक्षकले साथ दिने भएका छन् ।

शिक्षा तथा मानव विकास स्रोत केन्द्रका निर्देशक गेहनाथ गौतमले प्रविधिको माध्यमबाट कसरी विद्यार्थीलाई पढाउने भन्ने तयारीमा जुटेको जानकारी दिए। यसका लागि हाल कक्षा १ देखि ५ सम्मको बालबालिकाका लागि उपयोगी हुने सामग्री तयार गरिएको छ ।

बन्दाबन्दीमा पनि अध्ययन अध्यापन गर्न सकिने सन्देश दिन भिडियो कुराकानी, एफ.एम. रेडियो, टेलिभिजन, अनलाइन तथा सामाजिक सञ्जालको समेत प्रयोग गरेर विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सकिनेछ । वैशाख २ गते विद्यालय तहमा नयाँ शैक्षिकसत्र शुरू भएपछि तयारी शुरू गरिएको हो ।

यसअघि वैशाख २ देखि १५ सम्म भर्ना अभियान तथा त्यसपछि कक्षा नियमित सञ्चालन गर्ने गरिएको थियो । निर्देशक गौतमका अनुसार पाठ्यक्रम विकास केन्द्रले यसअघि पाठ्यक्रममा आधारित रहेर निकालेका विद्युतीय सामग्रीको पनि विद्यार्थीले उपयोग गर्न सक्ने छन् ।

प्रविधिमैत्री शिक्षक

कोरोना भाइरस सङ्क्रमणका कारण नियमित कक्षा सञ्चालन हुन नसकेका बेला प्रविधिबाट पढाउने सरकारी अभियान सघाउन प्रविधिमैत्री शिक्षक समाजको पहलमा आठ सय शिक्षक उत्पादन गरिँदैछ । ९० जना प्रशिक्षक प्रशिक्षण उत्पादन गर्न अनलाइन माध्यमबाट तालिम चलिरहेको छ । हरेक प्रदेशमा कम्तीमा एक–एक सय गरी प्रविधिबाट पढाउन सक्ने गरी झन्डै आठ सय शिक्षक उत्पादन गर्ने लक्ष्य लिइएको समाजका सचिव हरिहर दाहालले जानकारी दिए ।

प्रविधिबाट पढाउन शुरू

प्रविधिमा अनुभवी शिक्षकले यसको प्रयोग गरी पठनपाठन गराइरहेका छन् । मकवानपुर र तनहुँका शिक्षकले यसको सुरुवात गरेका हुन् । हटौँडाका चन्द्रोदयका शिक्षक विवशजङ्ग थापा र तनहुँस्थित खैरैनी मावि खैरेनीटारका प्रधानाध्यापक केशवराज घिमिरेले प्रविधिबाट विद्यार्थीको सिकाइलाई निरन्तरता दिइरहेको जानकारी दिए।

फेसबुकबाट लाइभ गरेर विद्यार्थीलाई पठनपाठन गराउन थालिएको छ, प्रअ घिमिरेले जानकारी दिए। विद्यार्थीलाई कक्षा हुने पूर्वसूचना दिएर सामाजिक सञ्जालबाटै पढाउन थालिएको र यो यतिबेला उपयुक्त सिकाइ विकल्प भएको उनको भनाइ छ । धेरै विद्यार्थी यसबाट लाभान्वित भएको उनको भनाइ छ ।

मकवानपुरका केही स्थानीय तहले पनि प्रविधिबाट कसरी पढाउने भन्ने विषयमा इच्छा देखाएकाले बन्दाबन्दीकै अवधिमा ४० जना शिक्षकले प्रविधिबाट कसरी पढाउने भनेर शिक्षकसित अनुभव आदानप्रदान गरेको जानकारी दिए। 

 गोरखापत्र दैनिकबाट