काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सरकारी वकिलको कार्यालय काठमाडौँमा सुरु भएको छ ।

शुक्रबार बिहान काठमाडौं प्रहरी परिसरको हिरासतबाट उनलाई बयानका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएसँगै बयान सुरु गरिएको हो ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो ।

उनीमाथि काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा अनुसन्धान हुनेछ । बयान सकिएपछि रविलाई पुनः कास्की नै पठाइने काठमाडौं प्रहरीले जनाएको छ ।

उनी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि कास्की जिल्ला प्रहरीको हिरासतमा छन् ।