आज खोखो विश्वकपको फाइनल खेल्दै नेपालका महिला र पुरुष टोली
काठमाडौं - नेपालले आज खोखो विश्वकपको फाइनल खेल खेल्दैछ। नेपालको खो खो खेलाडी टोलिले विश्वकप प्रतियोगिताको फाइनलमा स्थान बनाएर इतिहास बनाएका छन्।
भारतको इन्दिरा गान्धी इन्डोर रङ्गशालामा महिलातर्फको पहिलो सेमिफाइनलमा नेपालले युगान्डालाई ८९–१८ ले सहजै हरायो। यो नतिजाले नेपाली खेल क्षेत्रमा इतिहास निर्माण गरेको छ। नेपालले कुनै पनि खेलमा यसअघि विश्वकपको उपाधि भिडन्तमा स्थान बनाएको छैन। महिला टिमले उपलब्धि हासिल गरेको केही घन्टापछि नै नेपालको पुरुष टिमले पनि इरानलाई ७२–२० ले हराएर उपाधि भिडन्तमा स्थान बनाई नेपाली खेल समर्थकलाई दोहोरो खुसी प्रदान गर्यो।
नेपाली महिला टिम अपराजित रहँदै फाइनलमा पुगेको हो । नेपालले भुटानलाई ९३–२४, जर्मनीलाई ७३–३४, श्रीलङ्कालाई ११०–१० र बङ्गलादेशलाई ८४–२४ ले हराएर समूह सी विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाएको थियो। त्यसपछि नेपालले अन्तिम आठमा इरानलाई पनि एकपक्षीय खेलमा १०३–८ ले हरायो।
नेपालको महिला टिमले युगान्डाविरुद्ध पहिलो डिफेन्स गर्ने निर्णय गरेको थियो । तीन ड्रिम अङ्कसहित नेपालले इरानलाई पहिलो ‘टर्न’ मा १२–३ मा सीमित पार्यो । दोस्रो ‘टर्न’ मा अट्याकको पालोमा नेपालले ३६ अङ्क जोडेको थियो । दोस्रो ‘टर्न’ सकिँदा नै ३९–१२ स्कोरसहित नेपाल जितनजिक पुगिसकेको थियो । तेस्रो ‘टर्न’ मा नेपालले उत्कृष्ट डिफेन्स गर्दै थप आठ अङ्क जोड्यो भने अट्याक गर्ने युगान्डलाई मात्र छ अङ्क बनाउन दिएको थियो । त्यसपछि चौथो ‘टर्न’ मा नेपालले निरिह बनिसकेको युगान्डाविरुद्ध थप ५० अङ्क थपेको थियो।
सो खेलमा वजिरको भूमिकामा रहेकी नेपाली खेलाडी पूजा ओड सर्वश्रेष्ठ खेलाडी घोषित भएन्। यसै गरी नेपालकै दीपा विके उत्कृष्ट डिफेन्डर चुनिइन्। पुरुषतर्फ पहिलो सेमिफाइनलमा यस प्रतियोगितामा अपराजित इरानलाई सजिलै हराएर सबैलाई आश्चर्यमा पार्यो।
फेसबुक पेज Like गर्नुहोस