एसीसी इस्टर्न रिजन टी-२० क्रिकेटः नेपालको एसिया कप खेल्ने सपना अधुरै
काठमाडौं - थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी(ट्वान्टी क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । बुधबार भएको खेलमा सिंगापुरले हङकङलाई १६ रनले पराजित गरेसँगै नेपाल एक खेल अगाबै प्रतियोगिताबाट बाहिरिएको हो ।
प्रतियोगिताको अंक तालिकाअनुसार सिंगापुर ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । समान खेलमा मलेसिया र हङकङको समान ४–४ अंक रहेको छ । नेपाल २ अंकका साथ तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
नेपालले पहिलो खेलमा मलेसियासँग २२ रन तथा दोस्रो खेलमा हङकङसँग ४३ रनको हार व्यहोरेको थियो । तेस्रो खेलमा भने आयोजक थाइल्याण्डविरुद्ध ९ विकेटको कीर्तिमानी जित निकाल्दै नेपालले शीर्ष दुईमा रहने गणितीय सम्भावना कायम राखेको थियो । तर, हङकङलाई सिंगापुरले पराजित गरेसँगै नेपालको गणितीय सम्भावना पनि सकिएको हो ।
नेपालले सिंगापुरसँग एक खेल्न बाँकी रहेको छ । सिंगापुर भने एक खेल अगाबै एसिया कपमा छनोट भएको छ । इस्टर्न रिजनबाट बाहिरिएसँगै नेपालको एसिया कप खेल्ने सपना अधुरै भएको छ ।
फेसबुक पेज Like गर्नुहोस