काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

उनीसँगै पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले पक्राउ गर्न अनुमति दिएका हुन् ।

उनका अनुसार रवि र छविसहित १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको बताइएको छ । बुधबार सहकारी पीडितले रवि र छविसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए ।

साहरा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ।